जेन–जीको आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका एक कैदी मृत फेला परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका– ८, शाहीखोला राजाबास स्थायी घर भएका ३५ वर्षीय गम्भीरबहादुर दनुवार आज मृत्य फेला परेका हुन् ।

दनुवार कर्तव्य ज्यान मुद्दामा पाएको कैद सजाय सुनसरीको झुम्का कारागारबाट भुक्तान गरिरहेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार रहेका दनुवार आफ्नै घरभन्दा करिब एक सय मिटर टाढा सिसौको रुखमा झुन्डिएको अवसथामा मृत फेला परेका हुन् ।

उनले भने, ‘सुनसरी जिल्ला अदालतको १३ चैत ०७७ को  फैसलाले कर्तव्य ज्यान मुद्दामा दनुवारलाई जन्म कैदस्वरूप (२० वर्ष कैद) सजाय तोकिएको थियो ।’

दनुवारको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाएको र उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

उदयपुर स्थायी ठेगाना भएका विभिन्न कारागारबाट फरार नौजना कैदी पक्राउ गरिसकिएको सूचना अधिकारी दोङको भनाइ छ ।