शैलेश गुप्ता, २१ असोज, पोखरिया । पर्सा जिल्लाको पोखरिया नगरपालिका–५ सतवरियास्थित दलित बस्तीका ७५ बाढीपीडित परिवारलाई नगरपालिकाले राहत वितरण गरेको छ।

लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण बस्ती पूर्ण रूपमा डुबानमा परी जनजीवन अस्तव्यस्त बनेको थियो। बाढीका कारण खुला आकाशमुनि बस्न बाध्य परिवारहरूलाई खान, बस्न र सुत्नका लागि आवश्यक सामग्री—चामल, दाल, नुन, तेल, प्याज, आलु, सोयाबिन, तरकारी मसला र त्रिपाललगायतका राहत सामग्री वितरण गरिएको हो।

पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युम्न प्रसाद चौहानले राहत वितरण कार्यक्रमका क्रममा बाढीपीडितहरूको तत्कालीन समस्या समाधान र आवश्यक परेमा थप सहयोगका लागि नगरपालिका सधैं तयार रहने बताएका छन्। उनले राहत वितरणमा कुनै लापरवाही भए कडा कारबाही हुने चेतावनी पनि दिए।

वडा नम्बर ५ का वडा अध्यक्ष महेन्द्र महतो चाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, प्रशासन शाखा प्रमुख संजय कुमार पाण्डेय, विपद् व्यवस्थापन शाखा प्रमुख राजेश पटेल, जिंसी सहायक भगवान प्रसाद कानू, शिक्षा शाखा सहायक लालन पटेल, स्वास्थ्य शाखा सहायक शिव पटेल, नगर प्रहरी दीनानाथ चौरसिया, इलाका प्रहरी कार्यालय पोखरिया तथा शस्त्र प्रहरी बेस क्याम्पका प्रतिनिधिहरू, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूको पनि सहभागिता रहेको थियो।