पंचगावाँ । विवाहित हिन्दू नारीहरूले शुक्रबार श्रद्धा, भक्ति र उल्लासका साथ करवाचौथ पर्व मनाएका छन्। पतिको दीर्घायु र दीर्घ अटल सौभाग्यको कामनामा मनाइने यो पर्व विशेषगरी मधेस प्रदेशमा भव्यरूपमा मनाइयो।

कार्तिक कृष्ण चतुर्थीका दिन मनाइने करवाचौथमा महिलाहरूले बिहानै स्नान गरी व्रत सङ्कल्प लिन्छन् र दिनभर निराहार रहन्छन्। साँझ चन्द्रमाको दर्शनपछि मात्र व्रत तोड्ने परम्परा रहिआएको छ। महिलाहरूले सुन्दर पोशाक, सिन्दूर, बिन्दी, मेहँदी र चूडीसहित शृङ्गार गरेर करवामाता, गणेश र चन्द्रदेवको पूजा आराधना गरी कथा श्रवण गरेका थिए।

बिरगंजसहित पर्सा, बारा, रौतहटका विभिन्न स्थानमा आज बिहानदेखि नै महिलाहरू तयारीमा व्यस्त देखिन्थे। साँझपख घर–घरमा वा सामूहिक रूपमा पूजा गरी चन्द्रमा उदाएपछि छलनीबाट पतिको मुख हेरेर जल अर्पण गर्दै व्रत तोड्ने परम्परा महिलाहरूले पालना गरे।

पहिले भारतका उत्तर प्रदेश, बिहार र मधेस क्षेत्रमा सीमित यो पर्व अहिले नेपालका विभिन्न समुदायमा पनि लोकप्रिय बन्दै गएको छ। पछिल्ला वर्षमा विभिन्न जातजाति र क्षेत्रका महिलाले समेत वैवाहिक प्रेम, समर्पण र पारिवारिक एकताको प्रतीकका रूपमा यस पर्वलाई उत्साहपूर्वक मनाउने परम्परा बढ्दै गएको छ।