पंचगावाँ । सशस्त्र प्रहरी बल, नेपालद्वारा वीरगंज भन्सार क्षेत्रमा खटिएको टोलीले ठूलो मात्रामा अवैध रूपमा भित्र्याइएका पटका नियन्त्रण गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी बलको वीरगंज–१६ भन्सार मेनगेट चेकप्वाइन्टमा खटिएको टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा बा १२ च ३१०३ नम्बरको Hyundai Xcent कारमा उक्त सामान फेला पारेको हो।

चेकजाँचका क्रममा चालक गाडी छोडी फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। गाडीको तलासी गर्दा डिकीभित्र लुकाइराखिएका ९ वटा कार्टुनमा करिब रु. ५० हजार बराबरका पटका बरामद भएका थिए। बरामद पटकाहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी पानीमा हालेर नष्ट गरिएको प्रहरीले जनाएको छ।

घटनामा प्रयोग गरिएको उक्त कारको मूल्य करिब रु. १८ लाख निर्धारण गरिएको र सो वाहनलाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार अवैध वस्तुहरूको ओसारपसार रोकथामका लागि सशस्त्र प्रहरी बल सदैव सतर्क रहेको र यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने चेतावनी दिइएको छ।