पंचगावाँ । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–५, निचुटास्थित गौरीशंकर मन्दिर नजिक रहेको आँपको बगैंचाबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार बिहान करिब ९:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले निचुटाबाट महादेवपुरतर्फ जाँदै गरेको मोटरसाइकल (म.प्र.०३–०३५प ३०३७) लाई रोकी चेकजाँच गर्दा उक्त अवैध पदार्थ फेला परेको हो।

पक्राउ पर्नेमा धोबीनी गाउँपालिका–२, भिखमपुर टोल निवासी वर्ष २० का भुलन कुमार साह (सवारी चालक) र पटेर्वा सुगौली गाउँपालिका–५, निचुटा निवासी वर्ष २४ का पितम्बर साह रहेका छन्।

उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने लागुऔषध १ ग्राम १९० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। साथै उनीहरूको साथमा रहेका २ थान मोबाइल फोन र प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै युवकसँग प्रारम्भिक सोधपुछ भईरहेको छ भने लागुऔषध कहाँबाट कसरी ल्याइएको भन्ने विषयमा थप अनुसन्धान अगाडि बढाइएको छ।

पर्सा प्रहरीले लागुऔषध विरुद्ध जिल्लामा विशेष निगरानीसहित अभियान संचालन गरिरहेको बताउँदै आएको छ। पछिल्ला दिनमा युवापुस्तामाझ ब्राउन सुगरको प्रयोग र ओसारपसार बढ्दो क्रममा रहेको भन्दै प्रहरी सतर्क देखिएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले पक्राउ परेका दुवै व्यक्तिलाई लागुऔषध सम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।