पर्सा २७, असोज : पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ स्थित वडा कार्यालयमा पहिलोपटक स्थानीय युवाहरूले ताल्चा लगाएका छन्। गदियानी टोलबाट आएका करिब २०–२५ जना युवाहरूले सोमबार ११ बजे आएर कार्यालयमा कार्यरत सचिव, भेटनरी सहायक, पिउन लगायतका कर्मचारीहरूलाई कार्यालय बाहिर निकाली पूर्णरूपमा कार्यालय बन्द गराएका हुन्।

आक्रोशित युवाहरूको नेतृत्व गरेका हजरत अली गद्दी आफ्नो माग निरन्तर बेवास्ता भएको कारण बाध्य भएर यस्तो कदम चाल्नु परेको बताएका छन्। उनका अनुसार स्थानीय स्तरबाट विकास निर्माण तथा खेलकुद क्षेत्रमा आवश्यक बजेट छुट्याइएन, नागरिकका आवाजहरू सुनवाइ भएनन् र युवाहरूको भावना प्रति बेवास्ता गरिएको आरोप लगाउँदै आफूहरू ताल्चा लगाउन बाध्य भएको बताएका छन्।

“हाम्रो कुरा बारम्बार राख्दा पनि सुनुवाइ भएन, विशेष गरी खेलकुदमा कुनै बजेट छुट्याइएको छैन। हामी युवाहरूका मागप्रति बेवास्ता भएकाले आज हामी यो कदम चाल्न बाध्य भयौं,” गद्दीले बताए।

वडा कार्यालयमा ताल्चा लगाइएपछि त्यहाँका दैनिक सेवा प्रवाह ठप्प भएको छ। सेवा लिन आएका सर्वसाधारण फर्किन बाध्य भएका छन्। स्थानीय तह गठनपछि पहिलोपटक वडा नं. १ मा यस्तो किसिमको आन्दोलित अवस्था देखिएको हो।

युवाहरूले स्पष्ट रूपमा भनेका छन्, “जबसम्म हाम्रो माग पूरा हुँदैन, हामी ताल्चा खोल्दैनौं, कसैले जबरजस्ती खोल्न खोजे कडा कदम चाल्नेछौं।”

यस विषयमा वडा अध्यक्ष फरमान अन्सारीसँग प्रतिक्रिया लिँदा उनले तत्काल युवाहरूको टोलीसँग वार्ता गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। “म तुरुन्तै युवाहरूलाई डाकेरे छलफल गर्छु, सकारात्मक समाधान निकाल्ने प्रयास गर्छु,” अध्यक्ष अन्सारीले भने।

स्थानीय प्रशासन र गाउँपालिकाको ध्यान समेत यस घटनाले खिचेको छ। युवाहरूको माग र आन्दोलनले विकास र सेवाप्रवाहमा कस्तो प्रभाव पार्नेछ भन्नेबारे चासो बढेको छ। अहिलेको अवस्था समाधान गर्न सम्बन्धित पक्षहरूबीच सहमति र संवाद अपरिहार्य देखिएको छ।