पंचगावाँ । सखुवा प्रसौनी गाउँपालिका–१, सिद्धपुरका हालै सडक दुर्घटनामा ज्यान गुमाएका स्वर्गीय समिर चौधरीको परिवारलाई सहयोगी मनहरूले आर्थिक सहयोग गर्न थालेका छन्।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बडेर्वा, पर्साका प्रधानाध्यापक चेतमन प्रसाद दास थारुले मंगलबार चौधरी परिवारको घरमै पुगेर काम–क्रिया तथा श्राद्ध खर्चका लागि नगद रु. ५,००० सहयोग गरेका छन्। त्यसैगरी सोही गाउँपालिकाका सिद्धपुर निवासी बिकास बस्नेतले रु. ५,००० र टेकबहादुर क्षेत्रीले रु. ३,२५० हस्तान्तरण गरेको स्थानीय सुरेन्द्र महतोले जानकारी दिएका छन्।

सहयोगकर्ताहरूले चौधरी परिवार अहिले गम्भीर आर्थिक संकटमा रहेको भन्दै समाजका अन्य सहयोगी मनहरूले पनि सकेसम्म सहयोगका हात अघि बढाउन आग्रह गरेका छन्। गत असोज १८ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको थियो। उनका आमाआमा विस्मतिया देवी चौधरी र जेठो छोरा नन्दकिशोर चौधरी अहिले कठिन आर्थिक अवस्थामा रहेका छन्।

परिवारका सदस्यहरूले सहयोगीहरू प्रती हार्दिक धन्यवाद व्यक्त गर्दै भनेका छन्, “हामीजस्ता विपन्न परिवारका लागि यस्ता सहयोग अमृतजस्तै हुन्छ। साना–साना सहयोगहरूले पनि हाम्रो दुःखमा ठूलो राहत मिलेको छ।”