पटेर्वा सुगौली । बारामा प्रहरीले लागूऔषध ‘खैरो हिरोइन’ सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले बिहीबार साँझ प्रसौनी गाउँपालिका–३, नौतनस्थित सडकखण्डमा उक्त व्यक्तिलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार साँझ करिब साढे ४ बजे वीरगञ्जबाट प्रसौनीतर्फ पैदल हिँडिरहेका एक पुरुषलाई शंकास्पद गतिविधिका कारण जाँच गर्ने क्रममा भाग्ने प्रयास गरेपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो। पक्राउ पर्ने व्यक्ति पर्सा जिल्ला, पटेर्वा सुगौली गाउँपालिका–३ सानो देकुलीका ४२ वर्षीय रामाशंकर दास रहेका छन्।

खानतलासी गर्दा उनको पाइन्टको बाँया गोजीमा कागजमा बेरेर राखिएको खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक परीक्षणपछि उक्त पदार्थ ‘खैरो हिरोइन’ भएको पुष्टि भएको हो। बरामद हिरोइनको तौल १९.७८० मिलिग्राम रहेको र दासलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको प्रहरीले जानकारी दिएको छ।