पटेर्वा सुगौली :  समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी रङगपुरटाडी, पर्साको आयोजनामा पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरटाडी गादी बजारमा शनिबार दिउँसो मानव बेचबिखन न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रहरी सहायक निरीक्षक रामनिवास शाहले मानव बेचबिखनका कारण, परिणाम र न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी दिएका थिए। उनले पछिल्ला वर्षमा बढ्दै गएको मानव बेचबिखनका जोखिमबारे सचेत रहन आग्रह गर्दै भने, “मानव बेचबिखन केवल कानुनी अपराध मात्र होइन, यो सामाजिक मूल्य र मानवीय अस्तित्वमाथिको आक्रमण हो। यसलाई रोक्न सबैको संयुक्त प्रयास अपरिहार्य छ।”

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, व्यवसायी र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले प्रहरी र समुदायबीचको सहकार्यले गाउँमा शान्ति, सुरक्षा र सचेतना अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

यस अवसरमा स्थानीय रामनिवास चौरसिया, नौसाद अन्सारी, शिवशंकर यादव, राजेश मुखियालगायतले यस्ता कार्यक्रमले मानव बेचबिखन, लैङ्गिक हिंसा, बालविवाह तथा अवैध आपराधिक क्रियाकलापविरुद्ध साझा आवाज बलियो बनाउने बताए।