देवराज यादव/ सुनसरी। सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ भण्टाबारी चारकुनेस्थित भण्टाबारी–भीमनगर जाने सिमानामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरीपुर भण्टाबारीबाट खटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश दत्त पाण्डेयको टोली र इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्य प्रसाद अधिकारीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जना पुरुषलाई शंका लागी चेकजाँच गर्ने क्रममा, उनीहरूका साथबाट कालो प्लास्टिकमा प्याक गरी लुकाइ–छिपाइ राखिएको अवस्थामा लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ५३० मिलीग्राम (प्लास्टिक सहित) फेला पारेका हुन्।

पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल, भिमनगर ग्राम पंचायत–११ बस्ने २० वर्षीय नवि हुसेन र जिल्ला सप्तरी, राजविराज नगरपालिका–६ बस्ने १९ वर्षीय मोहम्मद खुर्सेद रहेका छन्। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको सशस्त्र प्रहरी भण्टाबारीका डिएसपी गणेश दत्त पाण्डेयले जानकारी दिए।

उनका अनुसार, “सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियमित गस्ती तथा निगरानीलाई तीव्र बनाएको छ।” डिएसपी पाण्डेयका अनुसार पछिल्लो समयमा सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रण गर्न संयुक्त टोलीले चेकजाँच र गस्तीलाई थप कडाइ गर्दै आएको छ।