धोबीनी । शुभ दीपावली तथा छठ पर्वको अवसरमा पर्साको धोबीनी गाउँपालिका–३ गुलरिया क्रिकेट क्लबले आयोजना गरेको टी–२० क्रिकेट प्रतियोगिताको बुधबार भव्य उद्घाटन गरिएको छ।

गुलरिया क्रिकेट मैदानमा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले फिता काटी प्रतियोगिताको उद्घाटन गर्नुभयो। सो अवसरमा अध्यक्ष चौहानले खेल युवाको शारीरिक र मानसिक विकासका लागि आवश्यक रहेको बताउँदै खेलले स्वास्थ्यमा औषधिको काम गर्ने उल्लेख गर्नुभयो। उहाँले खेलले गाउँपालिकाको पहिचान देश तथा विदेशमा बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा युवाहरूप्रति सहयोग जारी रहने प्रतिबद्धता समेत जनाउनुभयो।

कार्यक्रममा वडा नं. ३ का वडाअध्यक्ष राजकिशोर पटेल, योजना शाखा प्रमुख पप्पु पटेल, स्वास्थ्य प्रमुख संजय यादव, स्थानीय नेता बुनिलाल कुर्मी, शिक्षक पारस पटेल, गुलरिया युवा क्लबका अध्यक्ष पानालाल साह, हरिशंकर पटेल, सुदिल पटेल लगायतको उपस्थिती रहेको थियो।

आयोजक करमुदिन मियाँका अनुसार प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी छन्। बुधबारको उद्घाटन खेलमा पर्सा र हेटौंडा बीच प्रतिस्पर्धा भएकोमा हेटौंडाले जित हात पारेको छ। भोलि बारा र रौतहटबीचको खेल हुने आयोजकले जानकारी दिएका छन्।