काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालमाथि आफ्नो प्रति गम्भीर दुश्मनी राखेको आरोप लगाएका छन्।

बुधबार जेन–जी प्रदर्शनकारीहरूले आगजनी, तोडफोड र लुटपाट गरी ध्वस्त पारेको बालकोटस्थित आफ्नै निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्। उहाँका अनुसार सरकारले आन्दोलनको क्रममा अपराधिक कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही नगरी उल्टै अर्को आन्दोलनको बीजारोपण गरिरहेको छ।

“सरकारको मनसाय के छ भन्ने कुरा गृहमन्त्रीले हिजो टेलिभिजनमा दिएको अन्तर्वार्ताबाट प्रष्ट हुन्छ,” ओलीले भने, “दुःख परेकामाथि उहाँको दुष्मनी देखिन्छ। विशेषगरी मेरो प्रति उहाँको गम्भीर दुश्मनी छ।” उहाँले सरकार आफैंमाथि दबाब सिर्जना गरेर केही नेताहरूलाई पक्राउ गर्ने योजनामा रहेको गम्भीर आशंका व्यक्त गरे।

ओलीले आन्दोलनका पीडितहरूलाई न्याय दिलाउनुको सट्टा सरकारले दुष्मनी साँधिरहेको आरोप समेत लगाए। “आन्दोलनको क्रममा लुटपाट गर्नेहरू विदेशका होइनन्, यहीं वरपरका थिए, तर सरकारले कुनै कारबाही गरेको छैन,” उनले भने। “अहिले पक्राउ परेकाहरुलाई समेत सरकारले छोडिरहेको छ। सरकारको ध्यान भ्रष्टाचार नियन्त्रणमा छैन।”

अध्यक्ष ओलीले भ्रष्टाचार नियन्त्रण र सुशासनमा सरकारको चासो नरहेको भन्दै वर्तमान सरकारको नीति जनविरोधी रहेको टिप्पणी गरे।