भक्तपुर। नेपाली हिन्दुहरूको दोस्रो महान् पर्व तिहारको रौनक देशभर छाए पनि भक्तपुरका किसान भने यतिखेर खेतमै व्यस्त छन्। असिना र वर्षाको जोखिमका कारण यहाँका किसानले पाकेको धान हतारमा भित्र्याउन थालेका हुन्। वर्षदिनको कमाइ सुरक्षित गर्न किसानहरू तिहारको चाडपर्वलाई समेत पन्छाउँदै खेतमै घाम–पानीसँग जुधिरहेका छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीका किसान सानुभाइ गिरीले असिना पानी पर्ला भन्ने चिन्ताले तिहारको रमझममा सहभागी हुन नसकेको बताए। “तिहारको रौनक छ, तर हामी किसानलाई असिना र पानीको डर भयो, त्यसैले धान भित्र्याउन व्यस्त छौं,” उनले भने। उनका अनुसार बिहीबार भाइटीकाको दिन मात्र विश्राम गर्ने र बाँकी दिन खेतमै काम गर्ने योजना छ।

चिउरा मिल सञ्चालकहरूले खेतमै पुगेर धान खरिद गर्न थालेपछि किसानहरू हरियो धानसमेत काटेर सस्तोमा बिक्री गर्न बाध्य भएका छन्। चाँगुनारायण–७ वागेश्वरीकी प्रमिला कार्कीका अनुसार ताइचिन धान प्रतिकिलो ८० रुपैयाँमा खेतमै बिक्री गर्न थालेका हुन्।

त्यस्तै सूर्यविनायक–९ चित्तपोलकी सुभद्रा बस्नेतले यो समय वर्षभरको मुख्य आम्दानी हुने समय भएको बताउँदै, “तिहारमा पनि धान काट्नैपर्छ, ढिलो भयो भने असिना र पानीले सारा मिहिनेत बर्बाद हुन्छ,” भनिन्।

जिल्लाका ताथली, सुडाल, चित्तपोल, नङ्खेल, कटुञ्जे, गुण्डु, सिपाडोल, छालिङ्ग, वागेश्वरी, नगरकोट, दुवाकोट र झौखेललगायतका क्षेत्रमा अहिले किसानहरू धान काट्ने र भित्र्याउने काममा व्यस्त छन्। सूर्यविनायक–७ गुण्डुका किसान रविन्द्र बस्नेतका अनुसार सबै किसान एकैसाथ धान काट्न थालेपछि ज्यामी पाउन गाह्रो भएको छ। “तिहार नभनी सबै खेतमा व्यस्त छन्, पर्म छैन, ज्यामी पनि पाइँदैन,” उनले भने।

भक्तपुरका किसानहरूका अनुसार यदि आगामी दिनमा असिना र वर्षा भएमा ठूलो आर्थिक क्षति हुन सक्ने भएकाले उनीहरू तिहारको उल्लासभन्दा खेतीलाई नै प्राथमिकता दिइरहेका छन्।