महोत्तरी। नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमा अध्यक्ष भएर बस्ने सोच नभएको स्पष्ट गरेका छन्। उनले राष्ट्रलाई संकटबाट बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन्।

महोत्तरीको रामगोपालपुरमा तिहारको अवसरमा बुधबार आयोजित शुभकामना आदान–प्रदान तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले आवश्यकता परे नेतृत्वको पद त्याग्न तयार रहेको तर जिम्मेवारीबाट कहिल्यै नभाग्ने बताए। “अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन, राष्ट्र बचाउनु नै मुख्य हो। आवश्यकता परे म जस्तोसुकै त्याग गर्न तयार छु,” उनले भने, “तर जिम्मेवारीबाट भाग्ने मेरो स्वभाव होइन।”

उनले पार्टीको वर्तमान धारणा, आगामी रणनीति र राष्ट्रिय एजेन्डा प्रस्तुत गर्दै देशमा राष्ट्रिय सहमतिको आवश्यकता औंल्याए। मधेसमा जेन–जी पुस्ताको ठूलो सहभागितासहित आयोजना गरिएको कार्यक्रममा प्रचण्डले यसलाई नयाँ युगको सुरुवातका रूपमा व्याख्या गरे। “हिजो जनयुद्ध र जनआन्दोलनका बेला हामी जेनजी थियौं, आज ६०५ जना जेनजी युवाहरू माओवादी केन्द्रमा प्रवेश गर्नु ऐतिहासिक क्षण हो,” उनले भने।

संयोजक प्रचण्डले माओवादी र जेन–जी आन्दोलन मिलेर आगामी चुनावमा संयुक्त रूपमा जाने संकेत पनि दिए। “अरूले जेनजीका मागहरू पूरा गर्न सक्दैनन्। माओवादी नै त्यो शक्ति हो, जसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक प्रणाली र समावेशी लोकतन्त्रलाई व्यवहारमा ल्याउन सक्छ,” उनले जोड दिए।

सो अवसरमा उनले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका ६ सयभन्दा बढी युवालाई स्वागत गर्दै देशलाई संकटबाट निकाल्न सबैले साझा प्रयास गर्नुपर्नेमा जोड दिएका थिए।