काठमाडौं । जेन–जी युनाइटेडले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा श्रद्धाञ्जलिसहित भाइटीका कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै जेन–जीबीच एकता कायम गर्न माग गरेका छन् ।

कार्यक्रमका सहभागीहरूले “जेन–जी एक नभएसम्म शहीदका आत्माले शान्ति नपाउने” भन्दै रगतले लेखिएको इतिहासलाई खेर जान नदिन आह्वान गरे । उनीहरूले ‘शहीदको नाममा स्वार्थको खेल नहोस्’ र ‘शहीदको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी हो’ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा जेन–जी युनाइटेडका सदस्यहरूले नेपाली झण्डा शरीरमा ओढेर राष्ट्रिय एकता र बलिदानीको सम्मानप्रति प्रतिबद्धता जनाएका थिए ।