बारा । तिहारको झिलिमिली र उत्सवबीच बाराको सदरमुकाम कलैयाका युवाहरूले भने वर्षौंदेखिको पीडालाई प्राथमिकता दिँदै ‘हाम्रो सडक, हाम्रो अधिकार’ अभियान सुरु गरेका छन् । उनीहरूले भाइटीकाको दिन समेत कलैया–सितलपुर सडक खण्डको जीर्ण अवस्थाविरुद्ध सडकमा उभिएर हस्ताक्षर संकलन गरेका हुन् ।

करिब तीन किलोमिटर लामो यो सडक धुलो र खाल्डाखुल्डीले भरिएको छ, जसले स्थानीयको स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारेको छ । नेता र स्थानीय सरकारका बारम्बारका आश्वासनबाट दिक्क भएका युवाहरू सौरभ पाण्डेको अगुवाइमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेका छन् ।

अभियानमा हालसम्म २,००० भन्दा बढी हस्ताक्षर संकलन भइसकेको छ । युवाहरूको लक्ष्य ५,००० हस्ताक्षर पुर्‍याई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाउने र तत्काल सडक निर्माणको काम सुरु गर्न सरकारलाई बाध्य पार्ने रहेको छ । स्थानीयवासी, महिला समूह र व्यवसायीहरूले समेत अभियानलाई स्वस्फूर्त साथ दिएका छन् ।

अभियन्ता सौरभ पाण्डेले भने, “चाडपर्व त हरेक वर्ष आउँछ, तर यो सडकले हामीलाई हरेक दिन ‘नरकको यात्रा’ गराइरहेको छ। अब आश्वासन होइन, काम गरेर देखाऊ भन्ने सन्देश दिन हामी सडकमा निस्केका हौं।”