ललितपुर । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले २१ फागुनमा तोकिएको निर्वाचन सफल पार्नुको विकल्प नभएको बताएका छन् । तिहार, नेपाल सम्वत र छठको अवसरमा मंगलबार आयोजित चियापान कार्यक्रममा पुनले माओवादीले सरकारलाई निर्वाचन सफल बनाउन पूर्ण सहयोग गर्ने बताएका हुन् ।

उनले कांग्रेस, एमालेसहित सबै दललाई चुनावका लागि तयार हुन आग्रह गर्दै भने, “संविधानलाई सही बाटोमा ल्याउन चुनाव सम्पन्न गर्नु अपरिहार्य छ, हामी प्रतिबद्ध छौं र सबै दललाई पनि चुनावको पक्षमा उभिन आग्रह गर्छौं।” पुनले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि यही सन्देश दिएको स्पष्ट पारे ।

जेन–जी आन्दोलनबारे कुरा गर्दै पुनले २३ गतेको आन्दोलनलाई सही ठहर गरे भने २४ गतेको विध्वंसक घटना जेन–जीले नभई घुसपैठिया समूहले गराएको दाबी गरे । उनले ती दुवै दिनका घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै, जनताको आक्रोश भ्रष्टाचार, निरङ्कुशता र स्वेच्छाचारिताविरुद्धको आन्दोलनको परिणाम भएको बताए ।

प्रचण्डको अभिव्यक्ति सम्बन्धी विवादबारे पुनले स्पष्ट गर्दै भने, “सिंहदरबार जलाउने होइन, सरकारप्रति जनआक्रोश साङ्केतिक रूपमा बुझाउन उहाँले भनेका हुन्।” उनले सुशासनका पक्षमा माओवादी अन्य दलभन्दा फरक रहेको दाबी गर्दै, विगतका सबै भ्रष्टाचार प्रकरण छानबिनका लागि आफ्नो दल तयार रहेको प्रतिवद्धता जनाए ।