जनकपुरधाम । मधेस प्रदेश सरकारले यसपालि छठ पर्वको ‘पारण’ का दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संघीय सरकारले छठ पर्वमा एक दिन मात्र बिदा दिएकोमा प्रदेश सरकारले प्रदेशवासीको मागलाई सम्बोधन गर्दै पारणको दिन अर्थात् कात्तिक ११ गते मंगलबार थप बिदा दिने निर्णय गरेको हो ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठको भोलिपल्ट कात्तिक ११ गते प्रदेशभर सार्वजनिक बिदा हुने जनाएको छ । यसअघि संघीय सरकारले साँझियाँ घाटे अर्थात् कात्तिक १० गतेका लागि मात्र बिदा दिएको थियो ।

तराई–मधेस क्षेत्रमा लोक आस्थाको महापर्वका रूपमा मनाइने छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पारण गरेपछि मात्र व्रत समाप्त हुने परम्परा रहँदै आएको छ । यस कारण दुई दिन बिदाको माग हुँदै आएकोमा प्रदेश सरकारको यो निर्णयले श्रद्धालुहरूलाई सहजता हुने जनाइएको छ ।