जनकपुरधाम । आस्थाको महापर्व छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन मधेस प्रदेश प्रहरीले ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

मधेस प्रदेश प्रहरीका डिआइजी गोविन्द थपलियाका अनुसार, प्रदेशभरका आठै जिल्लामा करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। छठ पर्वको संवेदनशीलतालाई ध्यानमा राख्दै मादक पदार्थ सेवन गरी सवारी चलाउने, झैझगडा गर्ने वा भीडमा अव्यवस्था फैलाउने सम्भावनालाई रोक्न यो योजना लागू गरिएको हो।

सुरक्षाका लागि ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र सादा पोसाकका प्रहरी खटाइएका छन्। घाट, तलाउ, नदी किनार, बजार क्षेत्र र राजमार्गमा विशेष सतर्कता अपनाइने डिआइजी थपलियाले बताए। प्रहरीका अनुसार, भीडभाडयुक्त स्थानहरूमा सिसी क्यामेरा निगरानी, अस्थायी चौकी स्थापना र मोबाइल गस्ती टोलीहरू सक्रिय गरिएका छन्।

प्रहरीले जनताको श्रद्धा र विश्वास सुरक्षित राख्दै छठ पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै संयन्त्र परिचालन गरेको जनाएको छ। ‘अप्रेसन आस्था’बाट प्रदेशभर शान्ति, सुरक्षा र जनविश्वास कायम रहने अपेक्षा गरिएको छ।