काठमाडौं । सरकारले देशभर धर्ना, जुलुस र प्रदर्शन नगर्न सबै पक्षलाई आग्रह गरेको छ। गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै घुसपैठका कारण सुरक्षा चुनौती र आगामी निर्वाचन बिथोलिने चिन्ता व्यक्त गर्दै संयमता अपनाउन अपिल गरेका हुन्।

वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको तयारीमा सक्रिय रहेको उल्लेख गर्दै मन्त्रालयले अस्थिरता सिर्जना गर्न खोज्ने स्वार्थ समूहहरूले यस्ता कार्यक्रममा घुसपैठ गर्न सक्ने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्ने, सार्वजनिक सेवा पाउने र निर्वाचनमा भाग लिन पाउने अधिकार कुण्ठित हुन नदिई राष्ट्रिय हित प्रवर्द्धन गर्ने कार्यमा सबैले सहयोग गर्न आवश्यक छ।”

सरकारले सबै जायज माग, चासो र सरोकारप्रति संवेदनशील रहेको उल्लेख गर्दै धर्ना, जुलुस वा आन्दोलनमार्फत होइन, वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ।

572254312_122257732958191033_6952514805294361365_n-768x1096-1761397302.jpg