पंचगावाँ । छठ पर्वलाई लक्षित गर्दै तराई–मधेसका बजारहरूमा किनमेलको रौनक चुलिएको छ। यो अवसरमा भने नेपालका बजारहरूभन्दा भारतीय बजारहरूमा नेपालीहरूको भीड असाध्यै बढेको देखिन्छ।

पर्सा जिल्लाको वीरगंज, पोखरिया, बहुअरी, पटेर्वासुगौली, पर्सागढी, सखुवापरसौनीलगायत क्षेत्रका उपभोक्ताहरू भारतीय सीमावर्ती बजार — रक्सौल, भेलाही, सिकटा, इनरवा, भंगाहा, मैनाटारलगायत ठाउँमा पुगेर पूजाका सामग्री, लत्ताकपडा र दैनिक उपभोगका वस्तुहरू खरिद गरिरहेका छन्।

छठ पूजामा प्रयोग हुने अर्घ सामग्री, दौरा–ढकना, फलफूल, माटाका भाँडाकुँडा, कपडा, पूजा सामग्री र कोशीका सामग्री खरिद गर्न नेपालीहरू बिहानैदेखि भारतीय बजारमा भीड लाग्ने गरेको छ।

नेपालतर्फको बजारमा त्यति भीड नदेखिए पनि भारततर्फ भने हरेक पसलमा उपभोक्ताको चाप अत्यधिक रहेको छ। व्यापारीहरूको भनाइमा भारतमा समान वस्तु सस्तो पाइने भएकाले नेपाली ग्राहकहरूको आकर्षण वर्षेनि बढ्दै गएको हो।

रक्सौल बजारमा भीड यति बाक्लो देखिएको छ कि पैदल हिँड्नसमेत समस्या हुने अवस्था बनेको छ। स्थानीय व्यापारीहरूका अनुसार दशैं, तिहार र छठ पर्वको समयमा नेपालका सीमावर्ती बासिन्दाहरूको रोजाइ सधैं भारतीय बजार नै रहने गरेको छ।