वीरगञ्ज — असारमा पानी नपर्दा रोपाइँमा समस्या खेपेका तराई–मधेशका किसान अहिले कात्तिकको असामयिक वर्षाका कारण धान भित्र्याउन नसक्ने संकटमा परेका छन्। खेतमा भिजेको पाँजा र बोटमै टुसाएको बाला देख्दा किसानको छ महिनाको मेहनत खेर जाने चिन्ता बढेको छ।

सिरहाको गोलबजार–९ का किसान रामपुकार कामतीले रोपाइँ बेलाको खडेरी र अहिले भित्र्याउने बेलाको वर्षाले बाली नष्ट भएको गुनासो गर्नुभयो। कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार पानीसँगै हावा चलेकाले धान ढलेको, बाला कुहिएको र उत्पादन घट्ने अनुमान गरिएको छ।

कृषि विज्ञहरूका अनुसार काटेर राखिएको धान सुकाउन घाम लागेपछि तुरुन्तै भित्र्याउनुपर्ने र खेतमा पानीको निकासको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। नवलपरासीका कृषि ज्ञान केन्द्र प्रमुख डा. रविन्द्रनाथ चौबाका अनुसार जिल्लामा हालसम्म ६० देखि ७० प्रतिशत किसानले मात्र बाली भित्र्याएका छन्, बाँकी किसानको धान खेतमै रहेको छ। वर्षाले तोरी, दलहन र आलु जस्ता बालीमा पनि असर पुर्‍याएको बताइएको छ।