काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरको डिभिजन वन कार्यालयमा कार्यरत वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध झन्डै डेढ करोड रुपैयाँको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार श्रेष्ठले इलाम डिभिजन वन कार्यालयमा कार्यरत रहँदा पदिय अख्तियारीको दुरुपयोग गरी गैरकानुनी रूपमा १ करोड ४३ लाख १८ हजार ९ सय ३७ रुपैयाँ ५० पैसा बराबरको सम्पत्ति आर्जन गरेका थिए। अनुसन्धानपछि अख्तियारले उनलाई भ्रष्टाचार गरेको ठहर गरेको हो।

अख्तियारले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगोबमोजिम जरिवाना र गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफतको मागसहित सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ। आयोगको यो कदमले सार्वजनिक पदमा रहेर अनियमितता गर्नेहरूविरुद्धको निगरानी र कारबाहीलाई निरन्तरता दिएको देखिन्छ।