वीरगञ्ज । नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभाको संसदीय दलको नेतामा भरत प्रसाद साहलाई पुनः जिम्मेवारी दिएको छ। पार्टी संयोजक तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साहलाई पुनः संसदीय दलको नेतामा पुनर्स्थापित गर्ने निर्णय गरेका हुन्।

पूर्व अर्थ तथा गृह मन्त्री समेत रहेका साहलाई माओवादी केन्द्रले पुनः महत्त्वपूर्ण भूमिकामा फर्काएको हो। यसबारे प्रचण्डले मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई पत्रमार्फत औपचारिक रूपमा जानकारी गराएका छन्।

साहको पुनर्स्थापनासँगै अब मधेश प्रदेश सभामा माओवादी केन्द्रको संसदीय नेतृत्व उनी नै सम्हाल्ने भएका छन्। यसबीच नयाँ मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कात्तिक २२ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला नेतृत्व परिवर्तनलाई राजनीतिक दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।