पर्सा । कात्तिक शुक्ल चतुर्दशीका अवसरमा पर्सा जिल्लाको विभिन्न ग्रामीण क्षेत्रमा लाग्ने सातोमाईका मेलाहरु आजदेखि सुरु भएका छन् । जिल्ला वन क्षेत्रभित्र रहेका पाँचवटा प्रमुख शक्तिपीठहरू—पटेर्वा सुगौली गाउँपालिका–१ स्थित गादीमाई, जिराभवानी गाउँपालिका–५ स्थित सुगीभार माई, पर्सागढी नगरपालिका–१ को कोइलाभाई माई, पर्सागढी–३ को आमोदेवी माई र ठोरी गाउँपालिका–५ स्थित बाघमोर्चा माईमा एकसाथ मेला सुरु भएको हो ।

स्थानीयका अनुसार यस वर्ष मेला आयोजनामा कुनै प्रशासनिक अवरोध नभएकाले मेलाहरु यसपालि झनै भव्य र उत्साहपूर्वक मनाइँदै छन् । चतुर्दशीका दिन मन्दिरमा जल चढाएर सामान्य पूजा गरिन्छ भने पूर्णिमाको दिन बली चढाउने परम्परा रहेको छ । संस्कृतिको संरक्षण र धार्मिक परम्पराको निरन्तरताका लागि हरेक वर्ष यो मेला आयोजना हुँदै आएको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले मेलामा जुवा, तास, होहल्ला र मदिराजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । मेलाको सुरक्षाका लागि नेपाल प्रहरी र स्थानीय स्वयंसेवकहरू परिचालन गरिएको पनि उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले समेत मेला समितिलाई सो सम्बन्धी निर्देशन प्रदान गरेको छ ।

आज साँझ पाँचै शक्तिपीठमा दीप प्रज्वलन गर्दै श्रद्धालु भक्तजनहरूले विशेष पूजा अर्चना गरेका छन् । भोलि पूर्णिमाको दिन बिहानदेखि गादीमाई मेला लगायतका स्थलहरूमा बोका, हाँस, कुखुरा आदि बलि दिने धार्मिक परम्परा अनुसार भक्तजनहरूको ठूलो भीड लाग्ने अपेक्षा गरिएको गादीमाई मेला व्यवस्थापन समितिका लालबहादुर यादवले जानकारी दिनुभयो ।