वीरगञ्ज । बहुदरमाई नगरपालिका–५, पिप्रामा आजदेखि ऐतिहासिक पाँचदिने मेला विधिवत रूपमा सुरु भएको छ। कार्तिक पूर्णिमाको अवसरमा लाग्ने यो मेला मधेशको पुरानो धार्मिक र सांस्कृतिक परम्परासँग जोडिएको मानिन्छ।

मेलाको उद्घाटन स्थानीय मन्दिरमा पूजाअर्चना गरी गरिएको हो। पाँच दिनसम्म चल्ने यस मेलामा कुस्ती प्रतियोगिता, लोकनृत्य, गीत–संगीत, झाँकी प्रदर्शन र मनोरञ्जनका साधनहरू प्रमुख आकर्षण बनेका छन्। नगरपालिकाले मेलाको सुरक्षाका लागि प्रहरी परिचालन, सरसफाइ तथा यातायात व्यवस्थापनमा विशेष ध्यान दिएको जनाएको छ।

मेलामा पर्सा, बारा, रौतहट लगायतका जिल्लाबाट हजारौं भक्तजन र दर्शक आउने गरेका छन्। स्थानीयहरूका अनुसार पिप्राको यो मेला धार्मिक श्रद्धा र सांस्कृतिक एकताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।