पर्सा । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र भारतीय SSB 47 बटालियन ए कम्पनी हेडक्वाटर पन्टोका बीचको संयुक्त गस्ती टोलीले पर्सा जिल्लामा कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी सप्रनाउ पुरुषोत्तम भण्डारीको कमाण्डमा ९ जना नेपाली सशस्त्र प्रहरी र भारतीय पक्षबाट ५ जना गरी संयुक्त १४ जनाको टोलीले नेपाल तर्फ पर्सा वि.म.न.पा.–१६ इनर्वा र भारत तर्फ पूर्वी चम्पारण नुनियाडी पंचायत–१ अहिर्वा क्षेत्रमा सानो सीमा स्तम्भ नम्बर ३९०/२२ नजिकै संयुक्त गस्ती गरेको थियो ।

गस्तीका क्रममा नेपाल तर्फ पर्सा वि.म.न.पा.–५ कुम्हालटोलका अन्दाजी १८ वर्षका सुमित कुमार मण्डल र बारा जिल्ला जितपुरसिमरा उ.म.न.पा.–७ का अन्दाजी २८ वर्षका संजय कुमार साह कलवार झाडीमा लुकीछिपी बसेको अवस्थामा फेला परेका हुन् । उनीहरू बसेको स्थानमा रहेको बोरा भित्रबाट कटुवा पेस्तोल एक थान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण, पर्साका सूचना अधिकारी स.प्र.ना.उ विश्वराज योन्जनले जानकारी दिए ।

बरामद गरिएको पेस्तोलसहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।