काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले पछिल्ला दिनमा अनलाइन माध्यमबाट हुने ठगीका घटना बढ्दै गएको बताउँदै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रहरीका अनुसार ठगहरूले सामाजिक सञ्जाल वा अनलाइन साइटमा सस्तो दरमा सामान बिक्रीको प्रलोभन देखाई अग्रीम रकम भुक्तानी गर्न लगाउने, त्यसपछि रकम नपाएको बहानामा वाट्सएप कलमार्फत स्क्रिन सेयर गर्न लगाउने र त्यस क्रममा ओटीपी कोड लिएर बैंक खाता वा मोबाइल वालेट ह्याक गर्ने जस्ता घटना बढिरहेका छन् ।

प्रहरीले कुनै पनि व्यक्तिलाई ओटीपी कोड नदिन, स्क्रिन सेयर नगर्न, र अनलाइन माध्यमबाट कारोबार गर्दा आधिकारिक साइट वा एप मात्र प्रयोग गर्न आग्रह गरेको छ । प्रहरीका अनुसार सानो लापरबाहीले ठूलो आर्थिक क्षति हुन सक्ने भएकाले सावधानी अपनाउन आवश्यक छ ।