काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा आगामी निर्वाचनको तयारी, राजनीतिक वातावरण र राष्ट्रिय सहमतिको आवश्यकता सम्बन्धमा विस्तृत चर्चा गरिएको थियो ।

प्रधानमन्त्री कार्कीले मुलुकमा जेनजी आन्दोलनको भावना अनुसार सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्ने प्रयास भइरहेको बताइन् । उनले सरकार निर्वाचनका तयारीमा पूर्णरूपमा सक्रिय रहेको र लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्न प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

पूर्वराष्ट्रपति यादवले भेटका क्रममा सबै राजनीतिक दलहरू चुनावमा जानैपर्ने धारणा राख्दै, निर्वाचन नै लोकतन्त्रको मूल आत्मा भएको बताए । उनले भने, “राजनीतिक दलहरूले कुनै पनि बहानामा चुनावबाट भाग्नु हुँदैन। लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन निर्वाचन नै सर्वोत्तम बाटो हो।”

उनले सरकारले निर्वाचनका तयारीका क्रममा बजेट व्यवस्थापन, बन्दोबस्ती सामग्री आपूर्ति र निर्वाचन आयोगसँगको समन्वयलाई सकारात्मक पहलका रूपमा लिए । साथै उनले नागरिक समाजसँग पनि संवाद बढाउनुपर्ने सुझाव दिए ।

पूर्वराष्ट्रपति यादवले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारको पालामा निर्वाचन कसरी सम्भव भएको थियो भन्ने अनुभव पनि बाँडे । उनले त्यसबेला देखिएका सुरक्षा चुनौती र भूराजनितिक संवेदनशीलताका विषयमा स्मरण गर्दै अहिले पनि सबै सुरक्षा निकायबीच समन्वय बलियो हुनुपर्नेमा जोड दिए ।

उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै दल सहभागी हुने विश्वास व्यक्त गर्दै भने, “चुनावको विकल्प छैन। अहिले यो प्रक्रियालाई कुनै पनि बहानामा अल्झाउनु हुँदैन।”

भेटमा अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल लगायतका मन्त्रीहरूको पनि उपस्थिति थियो । यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले पनि पूर्वराष्ट्रपति यादवसँग ललितपुरमा भेटवार्ता गरेका थिए ।

सरकारले आगामी निर्वाचनका लागि देशभर संवाद, समन्वय र तयारी प्रक्रिया तीव्र रूपमा अघि बढाएको जनाएको छ ।