काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले निकोलस भुसालमाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।

मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई आज अदालतमा पेश गरी थप अनुसन्धानका लागि म्याद बढाइने माग गरिएको थियो ।

अदालतले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद थप गरेको हो ।

भुसाललाई पक्राउ गर्न काठमाडौँबाट डीएसपी अनिल घिमिरेको नेतृत्वमा टोली परिचालन गरिएको थियो । प्रहरीले जानकारी दिएको अनुसार, भुसालले पत्रकार सम्मेलनमार्फत देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने किसिमका अभिव्यक्ति दिएका थिए ।

यसअघि पनि उनको विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको अभिलेख देखिएको प्रहरीले जनाएको छ ।

हाल भुसाललाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।