वीरगञ्ज । वीरगञ्जस्थित सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज ले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा ‘समाचार वाचन प्रतियोगिता (Anchoring/Presentation Contest)’ आयोजना गर्ने भएको छ । सामुदायिक सञ्चार क्षेत्रमा दुई दशक लामो सफल यात्रालाई स्मरणीय बनाउन तथा स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताको उद्देश्य युवाहरूमा समाचार वाचन र प्रस्तुतीकरण सीप विकास गर्न प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ । एफएमका कार्यकारी निर्देशक शिवनाथ यादव का अनुसार, नारायणी एफएमले विगत २० वर्षदेखि समुदायका आवाजलाई मुखरित गर्दै समाचार, शिक्षा, मनोरञ्जन र सामाजिक सचेतनाका कार्यक्रमहरू निरन्तर प्रसारण गर्दै आएको छ ।

‘समाचार वाचन प्रतियोगिता’ मंसिर ६ गते (शनिबार) नारायणी एफएमको आयोजनामा सञ्चालन गरिनेछ । उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीलाई प्रथम पुरस्कार रु. २०,०००, दोस्रो रु. १५,०००, तेस्रो रु. १०,००० र सान्त्वना पुरस्कार रु. ५,००० प्रदान गरिनेछ ।

सहभागी हुन इच्छुक व्यक्तिले एफएमको वेबसाइटमा रहेको “Apply Now” बटनबाट आवेदन फाराम डाउनलोड गर्न सक्नेछन् वा प्रत्यक्ष एफएम कार्यालयमा पनि बुझाउन सक्नेछन् । फाराम बुझाउने अन्तिम मिति मंसिर १ गते साँझ ५ बजेसम्म रहनेछ ।

प्रतियोगितामा उमेर सीमा तोकिएको छैन र सहभागीहरूले समाचार वाचनका लागि आफूअनुकूल भाषा छनोट गर्न सक्ने व्यवस्था गरिएको छ । नारायणी एफएमले सञ्चार क्षेत्रमा रुचि राख्ने सम्पूर्ण प्रतिभाहरूलाई आवेदन दिई आफ्नो क्षमता प्रदर्शन गर्न आह्वान गरेको छ ।  सभार:रेसखबर