महोत्तरी । भारतको बिहारमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रबार सूचना जारी गर्दै कात्तिक २२ गते साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्म सीमा नाका बन्द रहने जानकारी दिएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव का अनुसार, सीमा बन्द रहने अवधिमा मानवीय तथा आकस्मिक सेवा बाहेक सबै प्रकारका आवागमन पूर्ण रूपमा रोकिनेछ । बिहारमा मङ्गलवारका दिन दोस्रो चरणको मतदान हुने भएकाले शान्ति–सुरक्षा कायम राख्नका लागि सीमा बन्द गर्न लागिएको बताइएको छ ।

त्यस्तै, धनुषा, सर्लाही र रौतहटका प्रशासन कार्यालयहरूले पनि उस्तै सूचना जारी गर्दै सीमा नाका बन्द हुने जनाएका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल का अनुसार भारतको सितामढी र पूर्वी चम्पारण क्षेत्रमा निर्वाचन हुने भएकाले सुरक्षा कारणले सीमा बन्द गर्नुपर्ने भएको हो ।

सीमा बन्दसँगै जनकपुरधाम–जयनगर रेल सेवा पनि अस्थायी रूपमा रोकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीका अनुसार, सीमा पुनः खुलेपछि रेल सेवा नियमित रूपमा सुचारु गरिनेछ ।