ललितपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव ले विगतमा पार्टी परित्याग गरेका सबै नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आग्रह गरेका छन् । उनले पार्टीलाई सबैको साझा घरका रूपमा परिभाषित गर्दै संकोच वा अप्ठ्यारो नमानी फर्किन आह्वान गरेका हुन् ।

अध्यक्ष यादवले भने, “पार्टी स्थापनाकालदेखि विभिन्न कारणले असन्तुष्ट भएर पार्टी छाड्नुभएका सबैजना हाम्रो साझा संगठन जसपा नेपालमा पुनः स्वागतयोग्य हुनुहुन्छ। जुनै कारणले पार्टी छाड्नुभएको होस्, फर्किन कुनै दुःख वा संकोच मान्नु पर्दैन।”

उनका अनुसार पार्टी एकताको भावना पुनः सुदृढ पार्ने र संगठनलाई सबल बनाउने लक्ष्यका साथ यो पहल गरिएको हो । ललितपुरको इमाडोलमा बिहीबार सम्पन्न जसपा केन्द्रीय समिति बैठकले पनि विगतमा पार्टी छाडेका सबै नेता–कार्यकर्तालाई पुनः फर्किन आह्वान गर्दै आउने सबैको खुलेर स्वागत गर्ने निर्णय गरेको छ ।