मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार विश्वासको मत लिन नपाउँदै पदबाट राजीनामा दिएका छन्। मधेस प्रदेशसभामा विश्वासको मतको तयारी भइरहेकै समयमा उनले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै पद त्याग गर्ने घोषणा गरेका हुन्।

सोनलले भनेका छन्— “सत्ता पक्षका माननीयहरू केही बेरका लागि बाहिर गएका थिए, वातावरण तयार हुन समय चाहिन्थ्यो। मैले सभामुखलाई आधा घण्टा रोकेर वातावरण बनाउन आग्रह गरेँ, तर पटक–पटक घण्टी बजाइँदै गएपछि राजीनामाको निर्णय गरेँ।”

प्रदेशसभालाई नियन्त्रणमा लिएर संघीयता कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् नगर्ने शक्तिहरू प्रदेशसभा विघटनको दिशामा लागेको बताए। उनले आगामी दिनमा नयाँ राजनीतिक परिस्थिति बन्न सक्ने उल्लेख गर्दै “अब जसले बहुमत पुर्‍याउँछ, उसले वैधानिक रूपमा सरकार बनाओस्” भनेर मार्ग प्रशस्त गरेको बताए।