काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री नेकपा एमालेमा प्रवेश गर्न लागेकी छिन्। उनी भोलि (सोमबार) औपचारिक रूपमा एमाले प्रवेश गर्ने तयारीमा छिन्।

झाँक्रीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै आफू ‘घर फर्क अभियान’ अन्तर्गत एमालेमा फर्कने बताएकी छन्। उनले लेखेकी छन्, “यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो।” उनले सबै कमरेडहरूलाई उक्त कार्यक्रममा सहभागी हुन पनि अनुरोध गरेकी छन्।

नेकपा एमालेले भोलि दिउँसो राष्ट्रियसभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ आयोजना गर्ने तयारी गरेको छ। केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले निर्माण र विस्तारमा सँगै हिँडेका सबै नेता–कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरेका थिए।

माधवकुमार नेपालले माओवादी केन्द्रसहित एकता गरेपछि झाँक्री असन्तुष्ट रहेको बताइएको थियो। सोही असन्तुष्टिका कारण उनले अन्ततः एमालेमा फर्कने निर्णय लिएकी हुन्।