काठमाडौँ । नेपालमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्र स्थापनासञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्र स्थापना भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार मन्त्रालय परिसरभित्र रहेको सानो कोठाबाट केन्द्रको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा मन्त्री खरेलले भने, “यो सुरुआत हो, हामी यसलाई निरन्तर अघि बढाउँछौं। एआई नीति बनिसकेको छ, एआई काउन्सिल गठन भइसकेको छ। आजैदेखि एआई सेन्टरले आफ्नो काम सुरु गर्नेछ।”

मन्त्री खरेलका अनुसार, नेपाल अब डिजिटल नेपालको नयाँ युगतर्फ अघि बढ्दैछ, र एआई केन्द्र त्यस यात्राको पहिलो पाइलो हो। उनले जन–जी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सृजना र नवप्रवर्तनका मुद्दाहरू डिजिटल रूपान्तरणमार्फत सम्बोधन गर्न सकिने बताए।

गत साउनमा मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको राष्ट्रिय एआई नीतिमा नै यस्तो केन्द्र गठन गर्ने प्रावधान समावेश गरिएको थियो। उक्त केन्द्रले एआई सम्बन्धी अध्ययन, अनुसन्धान, विकास, प्रयोग, नियमन र प्रवर्द्धन गर्ने जिम्मेवारी पाउनेछ।