काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरूका लागि सस्तो मूल्यमा विशेष इन्टरनेट अफर ल्याएको छ। कम्पनीले वार्षिक रु. ४,९९९ मा ३० एमबीपीएस गति सहितको इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेको हो।

कम्पनीका अनुसार, यस अफरमा दैनिक २५ जीबी एफयूपी (Fair Usage Policy) हुनेछ। निर्धारित सीमा पार गरेपछि पनि प्रयोगकर्ताले ५ एमबीपीएस गतिमा इन्टरनेट प्रयोग गर्न सक्नेछन्। यो अफर २२ माघ २०८२ सम्म लागू रहनेछ भने जडानका लागि अतिरिक्त रु. ५०० शुल्क लाग्नेछ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले यस अफरले विशेषगरी विद्यार्थी तथा युवा पुस्ता (जेनजी) लाई राहत दिने बताएका छन्। उनले ग्रामीण क्षेत्रसम्म टेलिकमको सेवा विस्तार गर्न निर्देशन दिँदै भने, “सेवा केवल सहरमा सीमित नहोस् भन्ने हाम्रो लक्ष्य हो।” साथै, गुणस्तरीय सेवा नदिने ठेकेदारको सम्झौता तत्काल रद्द गर्न पनि उनले आदेश दिएका छन्।