२४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो। कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए।

वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएका छन्। त्यसअघि नै सरकारले नयाँ नेतृत्व चयन गरेको हो।

कार्कीले २४ भदौमा जेनजी आन्दोलनका क्रममा उपत्यकाको कमाण्ड सम्हालेका थिए। त्यसअघि उनले प्रहरी प्रधान कार्यालयको मानव स्रोत साधन विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए। डीआईजी हुँदा उनले लुम्बिनी प्रदेशको कमाण्ड गरेका थिए भने एसएसपीका रूपमा काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व गर्दै भुटानी शरणार्थी प्रकरणका मुद्दा सम्हालेका थिए।

इमान्दार र दक्ष प्रहरी अधिकृतका रूपमा परिचित कार्की कुनै ठूलो आर्थिक विवादमा नपरेका अधिकारी हुन्। उनले फिल्डदेखि आईजीपी सचिवालयसम्मको अनुभव सँगालेका छन्। पूर्वमा प्रवक्ता समेत रहेर काम गरेका कार्कीले विदेशमा विभिन्न तालिम पनि लिएका छन्।