काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारको हकहित, पेसागत सुरक्षा र प्रेस स्वतन्त्रताको सुनिश्चितताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल पत्रकार महासङ्घका पदाधिकारीसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले पत्रकारको जीवन र व्यावसायिक सुरक्षाका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए। उनले मन्त्रालय र महासङ्घबीच नीतिगत समन्वय र सहमतिमा आधारित नीति निर्माण र कार्यान्वयन अघि बढाइने बताए।

महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत र भौतिक सुरक्षासँगै श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन र मिडिया हाउसका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्। महासङ्घले मन्त्रीलाई नौबुँदे ज्ञापनपत्र बुझाउँदै नीतिनिर्माणमा साझेदारी, घाइते पत्रकारका लागि राहत र ऐन कार्यान्वयनमा सहयोगको आग्रह गरेको छ।

मन्त्री खरेलले ज्ञापनपत्र ग्रहण गर्दै मन्त्रालयको तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने वचन दिएका छन्।