पंचगावाँ । २५ कार्तिक/  नेकपा एमाले सखुवा प्रसौनी गाउँपालिका कमिटीको आयोजनामा सखुवा प्रसौनी–६, एकडेरवामा भव्य जनसभा सम्पन्न भएको छ। गाउँपालिका कमिटी अध्यक्ष चन्दन सहनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय, जिल्ला तथा स्थानीय नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष अतिथि सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव, प्रमुख अतिथि पूर्व प्रदेश सांसद मन्जुर अन्सारी तथा वडा अध्यक्ष बासुदेव महतो लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो।

जनसभालाई सम्बोधन गर्दै अध्यक्ष जसवन्त यादवले नेकपा एमाले नै देशको अवस्था परिवर्तन गर्न सक्षम पार्टी भएको बताउँदै “मिशन २०८४” का लागि सबै कार्यकर्तालाई एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि टिप्पणी गर्दै अपराधीहरूलाई उन्मुक्ति दिने प्रवृत्ति देशका लागि खतरनाक भएको बताउनुभयो। यादवले पार्टीभित्र कुनै पनि भ्रष्ट र कमिसनखोरलाई स्थान नहुने स्पष्ट सन्देश दिँदै पूर्व मन्त्री राजकुमार गुप्तालाई ‘भ्रष्ट र एमालेलाई बदनाम गर्ने व्यक्ति’का रूपमा आलोचना गर्नुभयो। उहाँले भन्नुभयो, “गुप्ताले जहाँ कार्यक्रम गरे पनि जनताले उनलाई सिधा भन्नुपर्छ — ‘भ्रष्ट हौ।’”

यादवले थपे, “पार्टीमा ७८ लाखको भ्रष्टाचारमा मुछिएका गुप्तालाई अहिले देशभर ‘लिचिया मन्त्री’ भनेर चिनिन्छ। यस्तो व्यक्ति एमालेलाई बदनाम गर्छ र पार्टीले अब त्यस्ता व्यक्तिलाई सह्य गर्ने छैन।” उहाँले जिल्ला नेतृत्वलाई पनि भ्रष्ट, कमिसनखोर र अनैतिक व्यक्तिलाई साधारण सदस्यसमेत नराख्न आग्रह गर्नुभयो। हालका प्रदेश सांसदमाथि पनि परोक्ष आलोचना गर्दै यादवले भने, “जेन्जी आन्दोलनको बेला फेसबुकमा राजीनामा दिने स्टाटस लेखेर पछि डिलिट गर्नु दोहोरो चरित्र हो, यस्तो आचरण राजनीतिक नैतिकतासँग मेल खाँदैन।”

त्यस्तै, प्रमुख अतिथि पूर्व प्रदेश सांसद मन्जुर अन्सारीले नेकपा एमालेलाई देशकै सबैभन्दा ठूलो र लोकप्रिय पार्टीका रूपमा चित्रण गर्दै वर्तमान संघीय सरकारलाई “असंवैधानिक र असफल” बताउनुभयो। उहाँले भन्नुभयो, “जेन्जी आन्दोलन क्षणिक प्रतिक्रिया मात्रै थियो, तर एमाले स्थायित्व र परिवर्तनको पक्षमा उभिएको पार्टी हो।”

सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ का अध्यक्ष बासुदेव महतोले देश आर्थिक र राजनीतिक संकटको अवस्थामा रहेको बताउँदै “यस्तो बेला केपी शर्मा ओलीको स्थिर नेतृत्व अपरिहार्य छ” भन्नुभयो। उहाँका अनुसार एमालेले देशका ७७ वटै जिल्लामा जनसभा र जनसंपर्क अभियान सञ्चालन गरिरहेको छ, जसको उद्देश्य जनताको विश्वास जितेर स्थायित्व र विकासतर्फ देशलाई अघि बढाउने हो।

कार्यक्रममा फुलमती देवी थरुनी, बासुदेव महतो थारु, आरिफ अन्सारी, रामनाथ दास थारु लगायतका स्थानीय नेताहरूले पनि आफ्ना धारणा राख्दै आगामी निर्वाचनमा पार्टीलाई सुदृढ र विजयी बनाउन सबै तहका कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गर्नुभयो।

जनसभामा स्थानीय जनप्रतिनिधि, युवा, महिला समूह तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रम एमालेको “मिशन २०८४” अभियानअन्तर्गत आयोजित प्रमुख राजनीतिक क्रियाकलापका रूपमा हेरिएको छ, जसले गाउँपालिका स्तरमा संगठन सुदृढीकरण, अनुशासन र भ्रष्टाचारविरुद्धको अडानलाई जनस्तरमा बलियो बनाएको देखिन्छ।