भारतको बिहार विधानसभा चुनावको मत गणना आज बिहान ८ बजेबाट सुरु हुँदैछ। नोभेम्बर ६ र ११ मा दुई चरणमा सम्पन्न भएको मतदानको परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको भारतको निर्वाचन आयोगले जानकारी दिएको छ।

यसअघि सार्वजनिक भएका एक्जिट पोलहरूका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)लाई स्पष्ट बहुमत आउने संकेत देखिन्छ। १३ एजेन्सीहरूले गरेको सर्वेक्षणको औसत अनुसार एनडीएले १५४ सिट, महागठबन्धनले ८४ सिट र अन्य दलहरूले ५ सिट जित्ने अनुमान गरिएको छ।

पहिलो पटक चुनावमा होमिएको प्रशान्त किशोरको जन सुरज पार्टीले भने उल्लेख्य प्रभाव पार्न नसकेको देखिन्छ। एक्जिट पोलहरूले यसले ३–५ सिट मात्र जित्न सक्ने अनुमान गरेका छन्।

गत निर्वाचनमा एनडीएले १२५ सिट, महागठबन्धनले ११० सिट र अन्यले ८ सिट जितेका थिए। यस आधारमा यस पटक एनडीएले करिब २९ सिट बढाउने र महागठबन्धनले २८ सिट गुमाउने सम्भावना देखिएको छ।

२४३ सिटको बिहार विधानसभा चुनाव दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणमा १२१ सिटका लागि ६५% मतदान र दोस्रो चरणमा रेकर्ड ६७% मतदान भएको थियो।