काठमाडौं – आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका तयारी तीव्र बन्दै गएको छ। निर्वाचन आयोगले दुवै चुनावका लागि राजनीतिक दल दर्ता खुला गरेको जानकारी दिँदै आवश्यक विवरणसहित समयमै निवेदन दिन आग्रह गरेको छ।

आयोगले शुक्रबार सार्वजनिक गरेका छुट्टाछुट्टै सूचना अनुसार फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा तथा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु गरिएको हो।

सुझनाअनुसार मंसिर १ देखि १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न सकिनेछ भने राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दर्ता प्रक्रिया खुला रहनेछ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ मा उल्लेखित ढाँचाअनुसार निवेदन दर्ता गर्न दलहरूलाई अनुरोध गरेको छ। दल दर्ताका क्रममा दलको पूरा तथा संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, साथै पत्राचार ठेगाना, फोन नम्बर, इमेल र वेबसाइटको विवरण अनिवार्य रुपमा समावेश गर्नुपर्नेछ।

आगामी चुनावलाई लक्षित गर्दै आयोगले दलहरूलाई तोकिएको अवधिभित्र निवेदन दर्ता गर्न पुनः ध्यानाकर्षण गराएको छ।