पर्सा, २८ कात्तिक, ; बिहार विधानसभा चुनावको मतगणना आज बिहानैदेखि सुरु भएको छ। २४३ सीटको लागि भएको मतदानका प्रारम्भिक नतिजाहरु सार्वजनिक भइरहेका छन्, जसमा सत्ता पक्ष नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) र विपक्षी महागठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ।

नवीनतम प्राप्त रुझानअनुसार मुख्यमन्त्री नीतिश कुमार नेतृत्वको एनडीए गठबन्धन १६० मध्ये बढी सीटमा अगाडि रहेको छ। एनडीएमा भारतीय जनता पार्टी (भाजपा), जनता दल युनाइटेड (जदयू), लोजपा लगायत दलहरु समावेश छन्।

उता, तेजस्वी यादव नेतृत्वमा रहेको महागठबन्धन ७९ सीटमा अघि देखिएको छ। यस गठबन्धनमा राष्ट्रिय जनता दल (राजद), कांग्रेस, सीपीआई (एमएल) लगायत पार्टीहरु सहभागी छन्।

पार्टीगत हिसाबले जदयू ७५ सीटमा र भाजपा ७० सीटमा अगाडि रहेकाले ठूलो दल बन्ने दौड यी दुईबीच नै केन्द्रित देखिन्छ। सबै भन्दा ठूलो दल बन्न कुल १२२ सीट आवश्यक पर्छ।

गत चुनावमा राजद ७४ सिटसहित सबैभन्दा ठूलो दल बनेको थियो भने भाजपा एक सिटले पछाडि परेर दोस्रो भएको थियो। यसपटक भने ६७ प्रतिशतको रेकर्ड मतदान भएको निर्वाचनको अन्तिम परिणामप्रति सबैको ध्यान केन्द्रित छ।