२८ कात्तिक, पर्सा :, मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर उत्पन्न विवाद चर्किँदै गएपछि सात दलीय गठबन्धनले सुरु गरेको सडक आन्दोलन शुक्रबार बिहानदेखि निरन्तर जारी छ। मधेश भवनको मुख्य गेट अगाडि विहानैदेखि नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, लोसपा, जनमत पार्टी, एकीकृत समाजवादी लगायत दलका सांसद तथा कार्यकर्ताहरू धर्नामा बसेका छन्।

संविधान मर्मविपरीत गरिएको भनिएको मुख्यमन्त्री नियुक्ति र प्रदर्शनकारीमाथि भएको लाठीचार्जको विरोधमा सुरु गरिएको आन्दोलनमा सहभागीहरूले ‘मुख्यमन्त्री नियुक्ति खारेज गर’, ‘संविधान मिच्न पाइदैन’ जस्ता नाराबाजी गरिरहेका छन्। बिहानैदेखि ठूलो संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति देखिएपछि मधेश भवन अगाडिको वातावरण अत्यन्तै तनावरहित बनेको छ।

गठबन्धनका नेताहरूले मङ्सिर २३ गते तत्कालीन प्रदेश प्रमुखले गरेको मुख्यमन्त्री नियुक्ति गैरसंवैधानिक रहेको आरोप लगाउँदै यसविरुद्ध व्यापक आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए। शपथग्रहणकै दिन मुख्यमन्त्री कार्यालयमा तोडफोड तथा कर्मचारीमाथि हातपात भएको घटनाले प्रदेशको राजनीतिक तापक्रम झनै बढाएको छ।

धरनाले मधेश भवन अगाडिको सडकमा आवत–जावतमा ठूलो असर परेको छ। सर्वसाधारणलाई सडक पार गर्न समेत कठिनाइ हुन थालेपछि स्थानीय प्रशासनले वार्ता तथा संवादमार्फत समाधान खोज्ने प्रयास जारी रहेको जनाएको छ।