बिहारमा सम्पन्न विधानसभाको मतगणना अनुसार भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको ‘एनडिए’ गठबन्धनले दुईतिहाइ बहुमत सहित स्पष्ट विजय हासिल गरेको छ। शुक्रबार बिहानदेखि राति ११:४५ बजे सकिएको मतगणनाको अन्तिम नतिजा अनुसार २४३ सिटमध्ये २०२ सिट एनडिएले जितेको छ। बहुमतका लागि १२२ सिट आवश्यक पर्नेमा १६२ भन्दा बढी सिट प्राप्त गरे दुईतिहाइ बहुमत मानिन्छ।

७४ वर्षीय नितिश कुमार पुनः बिहारका शक्तिशाली मुख्यमन्त्री बन्ने पक्का भएको छ। गठबन्धनमा जेडीयू र भाजपा दुवै दलले सशक्त प्रदर्शन गरेका छन्। यसअघि सार्वजनिक एक्जिट पोलहरूले पनि एनडिए पक्षमै स्पष्ट बहुमत आउने अनुमान गरेका थिए, जुन अन्ततः सही सावित भयो।

यसपटक मुख्य प्रतिपक्षका रूपमा उभिएका आरजेडी–कांग्रेसको महागठबन्धन भने कमजोर प्रदर्शनमा रोकिएको छ। पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएको महागठबन्धनले जम्मा ३५ सिट मा मात्र जित हासिल गरेको छ। अन्य राजनीतिक दलहरूले मिलेर ६ सिट जितेका छन्।

यसैबीच चर्चित चुनावी रणनीतिकार प्रशान्त किशोर नेतृत्वको जन सुराज पार्टीले पहिलोपटक चुनावमा भाग लिए पनि एउटा सिट पनि जित्न नसक्दा निराशाजनक परिणाम आएको छ।