२९ कार्तिक, पर्सा — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आन्दोलनरत सात दललाई संवाद र समाधानमा फर्किन आग्रह गरेका छन्। शनिबार बिहान प्रदेशवासीको नाममा सम्बोधन गर्दै उनले नेपाली कांग्रेससहितका सात दललाई राजनीतिक संकट अन्त्य गर्न वार्ताको बाटो रोज्न अपिल गरे।

मुख्यमन्त्री यादवले आफ्नो नियुक्तिसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै अदालतको फैसलाबाटै समाधान आउने भएकाले सडक आन्दोलनको औचित्य नरहेको बताए। उनले आन्दोलनकारी दलहरूले प्रदेशमा अशान्ति फैलाउन खोजेको र शान्त वातावरण बिथोलिन नहुनेमा सबैलाई संवेदनशील हुन आग्रह गरे।

यादवले मधेस–केन्द्रित दलहरूले प्रदेशलाई मुठभेडतर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाउँदै जनतालाई कुनै ठोस एजेन्डा बिना भड्काइने काम भइरहेको दाबी गरे। उनका अनुसार आन्दोलनका नाममा आफू, संवैधानिक पदाधिकारी तथा प्रदेशसभा सांसदहरूको सुरक्षामा जोखिम बढेको छ।

जेन–जी आन्दोलनपछि वैदेशिक हस्तक्षेपका गतिविधि बढेको भन्दै उनले अहिले भइरहेको आन्दोलनलाई निरर्थक भने। लोसपा नेतृत्वको सरकार आफ्नै गठबन्धन सहयात्रीका कारण ढलेको दाबी गर्दै यसको दोष आफूमाथि थोपर्न खोजिएको आरोप उनले लगाए। आफू नचाहँदा पनि परिस्थितिले मुख्यमन्त्री बन्नुपरेको उनको भनाइ छ।

मुख्यमन्त्री निवासमा आन्दोलनकारीले कब्जा जमाएको घटनाप्रति उनले कडा आपत्ति जनाउँदै शान्ति, संवाद र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्न सबै पक्षलाई पुनः आह्वान गरे।