२९ ,कार्तिक पर्सा ,— पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित चौथो अध्यक्ष कप–२०८२ को उपाधि जागृत युवा क्लबले आफ्नो नाममा दर्ता गर्न सफल भएको छ। शनिबार सम्पन्न फाइनल खेलमा जगरनाथपुर गाउँपालिका–६ को क्रिकेट टोलीलाई पराजित गर्दै जागृत युवा क्लब विजयी बनेको हो।

सुरुमा ब्याटिङ थालेको वडा नं. ६ को टिमले १८ ओभर ५ बलमै सबै विकेट गुमाउँदै १०१ रनको योगफल बनायो। १०२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको जागृत युवा क्लबले १३ ओभर ५ बलमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै उपाधि हात पारेको हो।

विजेता टोलीलाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले ५१ हजार रुपैयाँको चेक तथा ट्रफी प्रदान गरे। उप–विजेता वडा नं. ६ लाई भने उपाध्यक्ष बिविता सिंह क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले २५ हजार रुपैयाँको चेक तथा ट्रफी हस्तान्तरण गरे।

फाइनल खेलमा जागृत युवा क्लबका अनिल महरा म्यान अफ द म्याच घोषित भए। त्यस्तै बेस्ट ब्याट्सम्यान क्लबका सुजित पटेल, बेस्ट फिल्डर वडा नं. ६ का सन्दिप पटेल, बेस्ट बलर १९ विकेट लिएका वडा नं. २ का सहजाद देवान र म्यान अफ द सिरिज वडा नं. २ कै दिपु राउत बने।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा तथा वीरगंज महानगरपालिका उप–मेयर इम्तियाज आलमको प्रमुख आतिथ्यतामा सम्पन्न फाइनल खेलामा जगरनाथपुर–५ का वडाध्यक्ष बिहारी महतो नुनिया, वडा नं. ६ का वडाध्यक्ष अयोध्या प्रसाद कुर्मी, कृषि शाखा प्रमुख दया चौहानलगायतको उपस्थिती थियो। कार्यक्रमको सञ्चालन शिक्षक रूपनारायण प्रसाद साहले गरेका थिए।

मधुवाहा क्रिकेट मैदानमा भएको फाइनल खेलमा विभिन्न व्यक्तिहरू तथा संस्थाहरूले अतिरिक्त पुरस्कार घोषणा गरेर खेलाडीहरूलाई वितरण गरिएको थियो। खेल हेर्न स्थानीयको उत्साहजनक उपस्थिति रहेको आयोजक समितिले जनाएको छ।