जिराभवानी / पर्साको जिराभवानी गाउँपालिका–१ बलुवामा सशस्त्र प्रहरीले आज बिहान ठूलो परिमाणमा भन्सार छली गरी ल्याइएका किप्याड मोबाइल सेट बरामद गरेको छ। भारतबाट ल्याइएका ती मोबाइलहरू धानबारीमा लुकाइराखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टिबाट निरीक्षक हरिचन्द्र खड्काको नेतृत्वमा खटिएको गस्ती टोलीले ‘लाभा’ कम्पनीका ४५० थान मोबाइल बरामद गरेको हो। सशस्त्र प्रहरी बल १३ नम्बर गणका उपरीक्षक पुरन चन्द्र भट्टका अनुसार बरामद मोबाइलको मूल्य करिब ९ लाख रुपैयाँ अनुमान गरिएको छ।

बरामद सामानलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा भन्सार छली तथा तस्करी नियन्त्रणका लागि निगरानी अझ कडा पारिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।