कात्तिक ३०, काठमाडौं / आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई लक्षित गर्दै सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले करिब १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्न सहमति जनाएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना पनि स्वीकृत गरेको छ।

बैठक गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको थियो। बैठकमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा सैनिक प्रतिनिधि सहभागी थिए। बैठकले निर्वाचनअघि, निर्वाचनको अवधिभर तथा पछि समेत सुरक्षा चुनौती रहने भन्दै सतर्कता बढाउने निर्णय गरेको सहसचिव आनन्द काफ्लेले बताए।

सुरक्षा व्यवस्थामा तीन तहको घेरा लागू गरिनेछ — पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना परिचालन गरिनेछ। सेनाको तैनाथीका लागि राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपति स्तरमा निर्णय गरिनेछ। आवश्यक परिस्थितिमा तीनै फौजलाई फ्रन्टलाइनमा खटाउन छुट्टै आदेश आवश्यक नपर्ने व्यवस्था पनि बैठकमा तय गरिएको एक उच्च अधिकारीले जानकारी दिए।