वीरगञ्ज / मधेश प्रदेशमा पछिल्ला दिनहरूमा देखिएका राजनीतिक विवाद, आपत्तिजनक अभिव्यक्ति तथा अराजक गतिविधिप्रति वीरगञ्जका सक्रिय युवा समूहले कडा आपत्ति जनाएको छ। समसामयिक राजनीतिक घटनाक्रमले प्रदेशभर अस्थिरता निम्त्याइरहेको भन्दै समूहले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएर जनप्रतिनिधिहरूबाट मर्यादा र लोकतान्त्रिक आचरणमाथि भएका आघातप्रति गम्भीर ध्यानाकर्षण गराएको हो।

समूहका अनुसार जनताको विश्वास बोकेर जिम्मेवारी निर्वाह गर्नुपर्ने व्यक्तिहरूले संवैधानिक मर्यादा उल्लंघन गर्दै सभ्यता र अनुशासनको सीमा नाघेर प्रस्तुत हुँदा जनभावनामा चोट पुगेको छ। संवेदनशील राजनीतिक परिस्थितिमा शान्त, संयमित र जिम्मेवार भूमिका अपेक्षित रहँदा उल्टो अराजक व्यवहार देखिनु चिन्ताजनक भएको समूहको धारणा छ।

कात्तिक २२ गते तत्कालीन मुख्यमन्त्रीले विश्वासको मत अघि नै राजीनामा दिएपछि नेकपा एमालेका सरोज कुमार यादव प्रदेश प्रमुखबाट धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। यिनै घटनाक्रमपछि उत्पन्न विवादमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरन्द्र सिंहले मुख्यमन्त्री कार्यालयमा राखिएको राष्ट्रिय झण्डा च्यातेर फाल्नेजस्तो कार्य गरेको आरोपबारे युवा समूहले कडा आपत्ति जनाएको छ। समूहले यस्तो असंवैधानिक कृत्यले देशको मर्यादामाथि प्रत्यक्ष आक्रमण गर्दै संविधानको धज्जी उडाएको भन्दै सम्बन्धित व्यक्तिमाथि गृहमन्त्रालयमार्फत कानुनी कारबाही गर्न माग गरेको छ।

युवाहरूले मधेश प्रदेश सरकारको कार्यालयमा भएको तोडफोडमा संलग्न जो–कोहीलाई तथ्यगत छानबिन गरी कानुनको दायरामा ल्याउनुपर्ने जोड दिएका छन्। कुनै पनि राजनीतिक दलको आवरणमा अराजकता फैलाउने व्यक्तिलाई छुट दिन नहुने समूहको माग छ।

सामाजिक अभियन्ता अकलेश कुमार साहको नेतृत्वमा ज्ञापनपत्र बुझाउन पुगेको टोलीले यदि दोषीमाथि कारबाही नभए शान्तिपूर्ण प्रदर्शनदेखि व्यापक आन्दोलनसम्म गर्न बाध्य हुने चेतावनी दिएको छ। कार्यक्रममा समाजिक अभियन्ता सन्दीप बस्नेत, देव सराफ, सोनु पटेल, संजय यादव, राजु कुमार, भगवान कुर्मी तथा युवा समाजसेवी सुमित पटेललगायतको उपस्थिति थियो।